काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूविरुद्ध गलत सूचना फैलाउनेहरूले पत्नी राधिका शाक्यको नाम जोडेर समेत अफवाह फैलाउन थालेको बताएका छन्। मङ्गलबार नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया जनाएका हुन्।
‘आज बिहान टिकटकमा एउटा हिन्दीमा समाचार सुन्दै थिएँ, प्रधानमन्त्री केपी ओलीको श्रीमतीको नाममा ४१ करोड रुपैयाँ स्विस बैंकमा जम्मा गरेको छ भनिएको रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आफैँलाई अचम्म लाग्यो, रिसाउनुपर्ने पनि के त्यस्ता नादानहरूसँग!’
प्रधानमन्त्री ओलीले आफ्नो नाम जोडेर अफवाह फैलाएको मात्र होइन, श्रीमतीको नामसमेत जोडेर झुटो प्रचार गरेपछि पार्टी बैठकमा गुनासो पोखे। उनले भने, ‘मेरो नाममा त पहिले नै ६५ करोड कि लाख डलर स्विस बैंकमा भएको भन्दारहेकै थिए। अब त मेरो श्रीमतीको नाममा पनि ४१ करोड… डलरै त होला!’
त्यस विषयमा व्यंग्यात्मक टिप्पणी गर्दै उनले आरोप लगाउनेहरूलाई त्यो रकम स्विस बैंकबाट ल्याएर खाने सुझाव दिए। उनले थपे, ‘गएर ल्याएर खानोस्, चाहे हिन्दी बोल्नेले खाओस्, नेपाली बोल्नेले खाओस्, चाहे अरू कुनै भाषाका मान्छेले खाओस्। ल्याएर खाओ, कमसेकम!’
प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार












प्रतिक्रिया