चितवन – चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको ज्यान गएको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा गस्ती गर्ने क्रममा मकुनाले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउनु परेको थियो। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा फर्काउने क्रममा मकुनाले नेपाली सेनाको नयाँ गोरखगण (क) गुल्म, सौराहाका सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेपछि गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरले जानकारी दिए।
किन हानियो गोलि ?
बुधबार हात्ती स्वीप गस्ती टोली कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा गस्ती गरिरहेको बेला मकुनाले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न खोजेपछि सुरक्षाकर्मीहरूले तत्कालै दुई राउन्ड चेतावनी हवाई फायर गरेका थिए। तर, मकुना झन् आक्रामक बनेर सानो हात्ती खगेन्द्रप्रसादतर्फ अघि बढेपछि गस्ती टोलीका सदस्य श्याम तामाङ भुइँमा खस्न पुगे। स्थिति जटिल बनेपछि टोलीले आत्मरक्षाका लागि थप गोली प्रहार गर्न बाध्य भएको सूचना अधिकारी थापामगरले जानकारी दिए।
उनका अनुसार मकुनालाई धपाउनका लागि कुल ६ राउन्ड गोली चलाइएको थियो। तीन राउन्ड गोली लागेपछि मकुना केही पर गएर पुनः आक्रमण गर्न अघि बढेपछि थप एक राउन्ड गोली प्रहार गरिएको थियो।
गोली लागेपछि भागेको मकुनालाई खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर अचेत अवस्थामा भेटिएको थियो। पशु चिकित्सकसहितको प्राविधिक टोलीले दिउँसो साढे ३ बजे मकुनालाई मृत घोषणा गरेको थियो। पोस्टमार्टमका क्रममा मकुनाको घाँटीको दायाँ भागमा गोली लागेको पुष्टि भएको छ।
निकुञ्जद्वारा हात्ती व्यवस्थापन प्रयास
मकुना मंसिर महिनादेखि सौराहा क्षेत्रमा देखापरेको थियो। यसको गतिविधि नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले दैनिक ५-६ वटा हात्ती र सुरक्षाकर्मी टोली परिचालन गरिरहेको थियो। मकुना गत वर्ष पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा देखिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जले घटनाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार













प्रतिक्रिया