एजेन्सी/ढाका – बङ्गलादेशमा पुनः हिंसा भड्किएको छ। पूर्व प्रधानमन्त्री शेख हसीनाका विरोधीहरूले बुधबार राति ढाकास्थित उनका पिता, बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर्रहमानको निवासमा आगजनी गरेका छन्। धानमण्डीस्थित घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।
बुधबार राति र बिहीबार बिहान प्रदर्शनकारीहरूले देशभर विभिन्न स्थानमा तोडफोड गरेका थिए। हसीनाको पार्टीसँग सम्बद्ध नेताहरूको घर तथा सम्पत्तिमाथि आक्रमण गर्दै शेख मुजीबुर्रहमानका भित्ते चित्रहरू पनि नष्ट गरिएको छ।
यस हिंसात्मक आन्दोलन भारतीय भूमिमा शरण लिएर बसेकी शेख हसीनाको एक अनलाइन सम्बोधन कार्यक्रम हुनुअघि सुरु भएको थियो। स्थानीय समयअनुसार राति ९ बजे फेसबुकमार्फत हसीनाले सम्बोधन गर्ने तय थियो। कार्यक्रम प्रारम्भ हुन लाग्दा प्रदर्शनकारीहरूले ‘बुलडोजर प्रदर्शन’को आह्वान गरेका थिए।
बङ्गलादेशको प्रमुख पत्रिका द डेली स्टार का अनुसार सामाजिक सञ्जालमा फैलिएको सामग्रीका आधारमा यो प्रदर्शन हसीनाको कथित बङ्गलादेश विरोधी गतिविधिका कारण भएको हो। प्रदर्शनकारीहरूले हसीनामाथि भारतमा बसेर स्वदेशविरोधी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
गत वर्ष सरकारी कोटामा आरक्षण सम्बन्धी विवादका कारण विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि शेख हसीना २०२४ अगस्ट ५ मा बङ्गलादेश छाडेर भारत गएकी थिइन्। त्यसयता, उनको अनुपस्थितिमा देशमा राजनीतिक अस्थिरता बढ्दै गएको देखिन्छ।
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार













प्रतिक्रिया