काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई कुनै पनि राजनीतिक वा धार्मिक स्वार्थ भन्दा माथि राखेर अघि बढाउन आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा बिहीबारदेखि सुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औं संस्करणको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले समृद्ध नेपाल निर्माणका लागि राजनीतिक दलहरू, नागरिक समाज तथा आम जनताले विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
उनले नेपालमा केही ठोस कार्य गर्न खोज्दा विभिन्न अवरोध सिर्जना गरिनु दुःखद् रहेको बताए। पाथीभरा केबलकार परियोजनाका सन्दर्भमा भइरहेको विरोधलाई विकास विरोधी सोचको उपज भन्दै उनले यसलाई पपुलिजमको नाममा उचाल्न खोजिएको आरोप लगाए।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै गलत सूचना फैलाएर आम नागरिकलाई भ्रामक रूपमा प्रभावित गरिने प्रवृत्ति बढ्दै गएकोप्रति अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे। नेपालमा नै अवसर सिर्जना गरी लाखौं नेपालीलाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने दीर्घकालीन प्रयासस्वरूप आफू विगत ३५ वर्षदेखि उद्योग तथा व्यापार क्षेत्रमार्फत सक्रिय रहेको उनले उल्लेख गरे।
पाथीभरा केबलकार परियोजनालाई लिएर सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको अनर्गल प्रचारप्रति अध्यक्ष ढकालले खेद प्रकट गरे। नेपालको आर्थिक विकास, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनमा जोड नदिइने हो भने भविष्यमा गम्भीर चुनौती उत्पन्न हुने उनको चेतावनी छ।
“हामीले नेपालमै रोजगारी सिर्जना गर्न नसक्ने हो भने लाखौं युवाहरू विदेशिन बाध्य हुनेछन्। विकासलाई अवरोध गर्ने सोचले समृद्ध नेपाल निर्माण सम्भव छैन,” उनले भने ।
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार













प्रतिक्रिया