काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गिरफ्तारी पूर्वाग्रहसहित गरिएको होइन भन्ने कुरा अदालतको धरौटी आदेशले स्पष्ट गरेको बताएका छन्।
रिजालले लामिछाने स्वयं गृहमन्त्री रहँदा कैलाश सिरोहियालाई व्यक्तिगत पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै भने, “हाल सरकारको निर्णय पूर्वाग्रहप्रेरित नभएको देखिन्छ। सहकारी ठगी प्रकरणमा उहाँको संलग्नता रहेको ठहर गर्दै कास्की, काठमाडौं, रुपन्देही र चितवन अदालतहरूले ‘निज अभियुक्त निर्दोष ठहर गर्न सकिँदैन’ भनी धरौटीमा रिहा गरेको विषयले यो पुष्टि गर्छ।”
उनले सरकार अनुसन्धान संयन्त्र भए पनि अन्तिम निर्णय अदालतको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गरे। “कानुनी प्रक्रियामा सरकार अनुसन्धानकर्ता मात्र हो, अन्तिम निर्णय अदालतले नै गर्छ,” उनले थपे।
रिजालले सामाजिक सञ्जालमा लेख्दै भने, “पहिले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनु नागरिकको दायित्व हो।”
लामिछानेले कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम र चितवनको साहारा सहकारीका मुद्दामा धरौटी बुझाइसकेका छन्।
यसअघि बिहीबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामिछानेको सांसद पद निलम्बनमाथि पुनर्विचार गर्न माग गरेका थिए। उनले अदालतले धरौटीमा रिहा गरिसकेपछि पनि सम्पत्ति शुद्धीकरणको आधारमा उनको सांसद पद निलम्बन गरिनु संविधान र न्यायको सिद्धान्तअनुसार उपयुक्त छ कि छैन भन्ने प्रश्न संसद्मा उठाएका थिए।
यसै सन्दर्भमा नेता रिजालले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार












प्रतिक्रिया