काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियु विद्यार्थी नेताहरुले बर्दीधारी प्रहरीमाथि सांघातिक आक्रमण गरेका छन् । गएराती रक्सी खाएर होहल्ला गरिरहेको अवस्थामा प्रहरीले भेटेर सम्झाउन खोज्दा उल्टै उनीहरुले प्रहरीमाथि कुटपिट गरेका हुन् ।
अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख रहेका कमल जोशी, अस्कल क्याम्पस अनेरास्ववियु उपाध्यक्ष दिनेश सिग्देललगायत ५/६ जनाको समुहले प्रहरीमाथि कुटपिट गरेका हुन् । हाल उनीहरु फरार रहेका छन् ।
कुटपिटबाट प्रहरी बृत्त दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र बिष्ट घाइते भएका छन् । घाइते प्रहरीहरुलाई तत्कालै ट्रमा सेन्टरमा उपचारको लागि लगिएको थियो । हाल उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
‘ड्युटीको क्रममा क्युआरटी टोली सरकारी मोटरसाइकलमा घुमिरहेको थियो । सोहीक्रममा प्रहरीको उनीहरुसँग छाया सेन्टर अगाडि भेट भयो,’ दरबारमार्गमा कार्यरत एक प्रहरीले भने, ‘रक्सीले मातेका उनीहरु होहल्ला गरिरहेका थिए । सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि जाइलागे ।’
प्रहरीमाथि जाइलागेका उनीहरुले सरकारी मोटरसाइकलमा समेत क्षती पुर्याएका छन् भने प्रहरीले लगाएको हेल्मेट पुर्ण रुपमा फुटाइदिएका छन् । सत्ताको मातमा उनीहरुले प्रहरीमाथि कुटपिट गरेको ती प्रहरी कर्मचारीको बुझाइ छ ।
दरबारमार्ग प्रहरीका अनुसार कुटपिटमा सलग्न फरार रहेका उनीहरुको खोजीकार्य जारी छ ।
प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार












प्रतिक्रिया