काठमाडौं – धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मासँग २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँको स्पष्ट हिसाब माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेका छन्।

नगरप्रमुख साम्पाङले विश्वकर्माविरुद्ध छानबिन गरी दोषी ठहरेमा कानुनी कारबाहीको मागसमेत गरेका छन्। उनका अनुसार विश्वकर्माले एक टेलिभिजन अन्तर्वार्तामा एशियाली विकास बैंक (ADB) बाट १ अर्ब ५० करोडको ऋण तथा अनुदान ल्याएर धरानको खानेपानी आयोजनामा खर्च भएको बताएका थिए। तर, धरान उपमहानगरपालिकाको लेखा शाखाबाट प्राप्त आधिकारिक विवरणअनुसार उक्त आयोजनामा ऋण र अनुदान गरी कुल १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्र खर्च भएको देखिएको छ।

advertisement

नगरप्रमुख साम्पाङले बाँकी रहेको २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ कहाँ, कसरी खर्च भयो भन्ने स्पष्ट विवरण माग गर्दै अख्तियारमा उजुरी दिएका छन्। अख्तियारलाई पठाइएको पत्रमा उनले भनेका छन्, “बाँकी रहेको रकमको प्रयोग सम्बन्धमा छानबिन गरी यथार्थ जानकारी उपलब्ध गराईदिनुहोस्। साथै, सो रकमको पारदर्शी हिसाब प्रस्तुत नभएमा कानुनी कारबाही अघि बढाइदिन अनुरोध गर्दछु।”

नगरप्रमुख साम्पाङद्वारा पठाइएको यो पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी, सुनसरी कार्यालयमा दर्ता भएको छ। अब अख्तियारले यस विषयमा आवश्यक अनुसन्धान अगाडि बढाउने भएको छ।

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com