काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालका दिनमा अपराधीहरू नेपाल प्रहरीलाई समेत नटेर्ने अवस्थामा पुगेको बताएका छन्।

नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित ‘नेपाल पुलिस क्लब – द ब्लु पेभिलियन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध प्रवृत्तिहरू झनै निर्भीक बन्दै गएकोमा चिन्ता व्यक्त गरे।

advertisement

उनले विगतमा प्रहरीलाई देख्नासाथ झुक्न बाध्य अपराधीहरू अहिले लाज सरम नमानी खुलमखुला हिँड्ने स्थिति आएको बताए। अझै खतरनाक रूपमा सुन तस्करहरूले समेत प्रहरीलाई चुनौती दिने गरेको उनले उल्लेख गरे।

“अहिलेको अवस्थामा सुन तस्करले प्रहरीलाई नै हप्काउने अवस्था देखिएको छ,” प्रधानमन्त्री ओलीले भने, “झोलाभरि सुन बोकेर हिंड्ने तस्कर उल्टै प्रहरीलाई नै धम्क्याउँछन्, ‘किन हेरेको?’ भनी प्रश्न गर्छन्।”

उनले पछिल्लो समय अपराधीहरू राज्यका कानूनी निकायलाई समेत धाकधम्की दिने अवस्थामा पुगेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

प्रधानमन्त्री ओलीले प्रहरी संगठनलाई निष्पक्ष, स्वच्छ, र कठोर रूपमा आफ्नो कर्तव्य पालन गर्न निर्देशन दिए। “ऐन कानुनअनुसार कडाइका साथ अघि बढ्नु आवश्यक छ,” उनले भने, “कुनै पनि प्रभाव वा दबाबबाट विचलित नभई अपराध नियन्त्रणमा प्रहरी दृढतापूर्वक लाग्नुपर्छ।”

समारोहमा प्रहरी संगठनका उच्च अधिकारीहरू, सरकारी प्रतिनिधिहरू तथा सुरक्षा निकायका अन्य सदस्यहरूको उपस्थिति थियो।

प्रकाशित मिति: २६ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com