काठमाडौं – राजधानीको ठमेल क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार पक्राउ पर्नेहरूमा दिनेश सिग्देल र रमेश फुलारा रहेका छन्। दुबै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी हुन्। प्रहरीका अनुसार उनीहरू नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु मा आबद्ध छन्।
पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसको प्रारम्भिक कमिटीका अध्यक्ष रहेको खुल्न आएको छ। उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल प्रहरी बिटबाट ड्युटीमा रहेको क्विक रेस्पोन्स टिम (QRT) का प्रहरीमाथि आक्रमण गरेका थिए।
यस घटनामा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। आक्रमणकारीहरूले प्रहरीको मोटरसाइकल लडाउनुका साथै कुटपिट गरेका थिए र प्रहरीको लौरोसमेत फालिदिएका थिए।
प्रहरीले फरार रहेका अर्को संलग्न व्यक्तिको खोजी जारी राखेको जनाएको छ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार












प्रतिक्रिया