काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय व्यापार नीतिमा कडा परिवर्तनको संकेत दिएका छन्। उनले विभिन्न मुलुकबाट अमेरिका आयात हुने वस्तुहरूमा ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक भन्सार महसुल लगाउने तयारी गरिरहेका छन्।

रोयटर्सका अनुसार, आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा आयात हुने स्टिल र आल्मुनियममा सोमबारदेखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्। साथै, मंगलबार र बुधबार उनले अन्य सम्पूर्ण वस्तुमा ‘रेसिप्रोकल’ महसुल लागू गर्ने निर्णय सार्वजनिक गर्ने बताएका छन्।

advertisement

‘रेसिप्रोकल’ भन्सार नीति अन्तर्गत, कुनै पनि मुलुकले अमेरिकी सामानमा जति औसत भन्सार लगाउँछ, अमेरिकाले सोही अनुपातमा सोही मुलुकबाट आयात हुने वस्तुमा महसुल लगाउनेछ। वर्तमान अवस्थामा अमेरिका भन्सार दरका हिसाबले अन्य मुलुकभन्दा निकै उदार छ। उदाहरणका लागि, विश्व व्यापार संगठन (WTO) का तथ्यांकअनुसार, अमेरिकाको औसत महसुल दर २.२ प्रतिशत मात्र छ, जबकि भारतमा यो १२ प्रतिशत, ब्राजिलमा ६.७ प्रतिशत, भियतनाममा ५.१ प्रतिशत र युरोपेली संघमा २.७ प्रतिशत छ।

युरोपेली संघ (EU) ले अमेरिकी कार आयातमा १० प्रतिशत महसुल लगाउँदै आएको छ, तर अमेरिका भने युरोपेली कारहरूमा मात्र २.५ प्रतिशत महसुल लगाइरहेको छ। ट्रम्पको नयाँ नीतिले यस्तो असन्तुलन अन्त्य गर्ने संकेत गरेको छ।

नेपालजस्ता देशहरू पनि प्रभावित हुन सक्ने

हालसम्म ट्रम्प प्रशासनले विकासोन्मुख वा अल्पविकसित मुलुकहरूलाई कुनै छुट दिने बारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन। यस्तो अवस्थामा नेपाल लगायतका देशहरूबाट अमेरिका निर्यात हुने सामानमा पनि भन्सार दर बढ्न सक्ने जोखिम देखिन्छ।

सबैभन्दा बढी असर छिमेकी राष्ट्रहरूलाई

ट्रम्प प्रशासनको नयाँ नीतिले अमेरिका निकट व्यापारिक साझेदारहरू—मेक्सिको, क्यानडा, दक्षिण कोरिया, भियतनाम लगायतका मुलुकहरूलाई प्रत्यक्ष रूपमा प्रभावित गर्नेछ। स्टिल निर्यातका प्रमुख स्रोतहरूमा क्यानडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया र भियतनाम रहेका छन्, भने अमेरिकाका लागि आल्मुनियमको सबैभन्दा ठूलो आपूर्तिकर्ता क्यानडा हो। सन् २०२४ को पहिलो ११ महिनामा अमेरिकाले आयात गरेको कुल आल्मुनियममध्ये ७९ प्रतिशत हिस्सा क्यानडाबाट आएको थियो।

ट्रम्पको यो कदमले अमेरिकालाई विश्वव्यापी व्यापार युद्धतर्फ धकेल्ने देखिन्छ, जसले अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा गहिरो असर पार्न सक्छ। अब विश्वभरका मुलुकहरू यस कदमको प्रतिक्रियामा कसरी अघि बढ्छन् भन्ने कुराले अन्तर्राष्ट्रिय व्यापार सम्बन्धको भविष्य निर्धारण गर्नेछ।

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com