काठमाडौं – ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि भएको आक्रमण ग घटनामा संलग्न अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको छ भने सोही घटनामा संलग्न अन्य पाँचजनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
गत बिहीबार नेकपा एमालेनिकट अनेरास्ववियूका स्थायी कमिटी सदस्य जोशीको नेतृत्वमा रहेको समूहले ठमेलमा सुरक्षार्थ खटिएका प्रहरीमाथि कुटपिट गरेको थियो। सोही घटनाका कारण पाँचजनाविरुद्ध पक्राउ पुर्जी जारी गरिए पनि जोशीलाई उन्मुक्ति दिइनु गम्भीर प्रश्नको विषय बनेको छ।
घटनामा संलग्न भएको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ निवासी २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ निवासी २२ वर्षीय रमेश फुलारालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो। दुबै जना अमृत साइन्स क्याम्पस (अस्कल)का विद्यार्थी हुन् र नेकपा एमाले विद्यार्थी संगठनमा आबद्ध रहेका छन्।
पक्राउ परेका दुईजनासहित नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ। तर, सोही समूहमा रहेका जोशीलाई भने उन्मुक्ति दिइएको छ। प्रहरी स्रोतका अनुसार माथिल्लो तहबाट आएको दबाबका कारण जोशीविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रशासनसँग अनुमति समेत नमागिएको खुलेको छ।
“मुख्य योजनाकार जोशी नै भएको देखिन्छ, तर उच्चस्तरीय हस्तक्षेपका कारण उनीविरुद्ध कुनै कारबाही अघि बढाइएन,” एक प्रहरी अधिकृतले बताए।
प्रहरीमाथि आक्रमणका क्रममा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट घाइते भएका थिए। दरबारमार्गस्थित केशरमहल बिटबाट गस्तीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई जोशी समूहले आक्रमण गरेको थियो। मध्यराति हो–हल्ला गर्दै हिँडिरहेको सो समूहलाई प्रहरीले सम्झाउन खोज्दा, उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै लठ्ठीसमेत प्रहार गरेका थिए।
प्रहरीमाथिको आक्रमण गम्भीर अपराध मानिन्छ। तर, जोशीलाई उन्मुक्ति दिँदै अन्य पाँचजनामाथि मात्रै कारबाही अघि बढाइँदा यस घटनाले राजनीतिक हस्तक्षेपको गहिरो छायाँ परेको देखिन्छ।
प्रकाशित मिति: २८ माघ २०८१, सोमबार












प्रतिक्रिया