काठमाडौं – एनआईसी एशिया बैंक आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ घाटामा गएको छ। आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षमा ठूलो आर्थिक क्षति बेहोरेको छ।
नेपाल राष्ट्र बैंकले १ अर्ब ४ करोड २४ लाख ८५ हजार रुपैयाँको अतिरिक्त प्रोभिजनिङ थप गर्न निर्देशन दिएपछि बैंकको सञ्चित नोक्सानी उल्लेख्य रूपमा बढेको हो। बैंकले सार्वजनिक गरेको लेखापरीक्षण हुन बाँकी वित्तीय विवरणअनुसार, सम्भावित नोक्सानी व्यवस्थापनका लागि २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ छुट्याइएको थियो। तर, राष्ट्र बैंकको निर्देशनअनुसार प्रोभिजनिङ ३६.६५ प्रतिशतले वृद्धि भई ३ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
बाह्य लेखापरीक्षणपछि बैंकको नाफामा ठूलो गिरावट देखिएको छ। बैंकले प्रारम्भिक वित्तीय विवरणमा १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ नाफा देखाएको थियो। तर, लेखापरीक्षणपछि उक्त नाफा ४९.२४ प्रतिशत घटेर मात्र ७० करोड १४ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ।
बैंकले आगामी फागुन २२ गते २७औं वार्षिक साधारणसभा आह्वान गरेको छ। तर, घाटाका कारण यस वर्ष सेयरधनीलाई लाभांश वितरण गर्न असम्भव भएको छ।
पुँजी संरचनालाई सुदृढ गर्न, बैंकले वार्षिक साधारणसभामा ५ अर्ब रुपैयाँ बराबरको “एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्ताव पेस गर्नेछ। साथै, अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने योजना रहेको छ।
सभा प्रयोजनका लागि बैंकले फागुन ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, फागुन ७ गतेसम्म कायम रहेका सेयरधनीहरूले सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार












प्रतिक्रिया