काठमाडौं । नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने सरकारी निर्णयपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पीडित बालिकासँग माफी मागेका छन्।

मेयर साहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै पीडितलाई ढाडस दिएका छन्। उनले लेखेका छन्, “सरी नानु, तिम्रा पिडकविरुद्ध मुद्दा नचल्ने निर्णय सरकारले गर्‍यो। नआत्तिनू, समय आउनेछ। यस्ता विभेद र अपराध समाप्त गर्न तिमीले पढ्नुपर्छ, समाज बुझ्नुपर्छ।”

advertisement

सरकारले गरेको निर्णयप्रति कटाक्ष गर्दै उनले अन्यायविरुद्ध लड्न शिक्षा र सचेतना आवश्यक रहेको संकेत गरेका छन्।

सांसद शर्माविरुद्ध किन अघि बढेन कानुनी प्रक्रिया?

लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्मामाथि एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी दुव्र्यवहार गरेको आरोप लागेको थियो। गत जेठ १४ गते बालुवाटारस्थित एक घरबाट काठमाडौं महानगरपालिकाको टोलीले ती बालिकालाई उद्धार गरेको थियो। पछि अनुसन्धानका क्रममा उक्त घर सांसद शर्माको रहेको खुलेको थियो।

घटनापछि महानगरपालिकाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरे। प्रहरीले पनि सत्ता नजिकको व्यक्ति भएकाले छानबिन नगरेको आरोप लागेको छ।

सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै मेयर साहले पीडितलाई भविष्यमा यस्ता अन्याय रोक्नका लागि शिक्षाको महत्त्व बुझ्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com