काठमाडौं । ठमेलमा सुरक्षामा खटिएका प्रहरीमाथि भएको कुटपिट घटनामा संलग्नहरूलाई कारबाहीको माग भइरहेका बेला उल्टै उक्त घटनाका पीडित प्रहरीमाथि नै छानबिन प्रक्रिया अघि बढाइएको छ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पायो। फुटेज बाहिरिएपछि दोषीहरूमाथि कारबाहीको माग गर्दै चौतर्फी दबाब सिर्जना भयो, जसका कारण अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितका केही व्यक्तिहरू पक्राउ परेका थिए।
तर, प्रहरी परिसर काठमाडौंले उक्त भिडियो कसरी सार्वजनिक भयो भन्नेबारे छानबिन सुरु गरेको छ। परिसर स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै अनुसन्धान अघि बढाइएको हो।
राजनीतिक दबाबपछि अनुसन्धान अघि बढ्यो
स्रोतका अनुसार, भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि संसदसम्म यस विषयले तरंग ल्यायो। राजनीतिक तहबाटै प्रहरी नेतृत्वलाई दबाब आएपछि अनुसन्धान प्रक्रियामा फेरबदल गरिएको प्रहरी स्रोतले जनाएको छ।
२४ माघको राति ठमेलमा सुरक्षामा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टलाई अनेरास्ववियुका कार्यकर्ताहरूले आक्रमण गरेका थिए। दरबारमार्गस्थित केशरमहल बिटबाट गस्तीमा रहेको क्विक रेस्पोन्स टीम (QRT) माथि समेत आक्रमण भएको थियो।
मध्यराति हो-हल्ला गर्दै हिँडिरहेका समूहलाई प्रहरीले सम्झाउने प्रयास गरेपछि उनीहरूले प्रहरीको मोटरसाइकल लडाइदिएर लौरोसमेत प्रहार गरेका थिए। घटनाका क्रममा प्रहरीले लगाएको बर्दी च्यातिनुका साथै हेल्मेटसमेत खोलेर प्रहरीमाथि आक्रमण गरिएको थियो।
कुटपिटमा संलग्नहरूमध्ये केही पक्राउ, केही अझै फरार
प्रहरी कुटपिटमा संलग्न भएको आरोपमा ताप्लेजुङका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराका २२ वर्षीय रमेश फुलारालाई पक्राउ गरिसकिएको छ। दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)का विद्यार्थी तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन्।
यसैगरी, घटनामा संलग्न भई पक्राउ पुर्जी जारी गरिएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अझै फरार छन्।
पीडित प्रहरी नै छानबिनको दायरामा
प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कम्तीमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेका बेला उल्टै प्रहरीमाथि छानबिन थालिएको घटनाले प्रहरी संगठनभित्र नै असन्तोष सिर्जना भएको छ।
प्रहरीभित्रैबाट यो घटनालाई लिएर असन्तुष्टि व्यक्त भइरहेको छ। दोषीलाई कारबाही हुनुपर्ने माग गरिरहेका सुरक्षाकर्मीहरू उल्टै अनुसन्धानको दायरामा पर्नु पर्ने अवस्थाले उनीहरूलाई थप निराश बनाएको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार












प्रतिक्रिया