विराटनगर । ताप्लेजुङको धार्मिक तथा पर्यटकीयस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर उत्पन्न विवादका बीच धरानमा एक व्यक्तिलाई कालोमोसो दलिएको छ।
केबलकार निर्माणको पक्षमा बोलेको आरोपमा आइतबार दिउँसो धरानमा पदम चेन्जी माबोलाई एक समूहले कालोमोसो दलेका हुन्। ताप्लेजुङबाट धरान आएका चेन्जीलाई धरान उपमहानगरपालिका–९ स्थित एक होटल बाहिर उक्त समूहले निशाना बनाएको थियो।
उनी एक विशेष कार्यक्रममा सहभागी हुन धरान आएका थिए। घटना लगत्तै इलाका प्रहरी कार्यालय धरानले उनलाई सुरक्षा प्रदान गर्दै संरक्षणमा लिएको छ।
पहिचान पक्षधर समूहले उक्त घटनामा संलग्न रहेको दाबी गरिएको छ। पहिचान पक्षधर नेता अमर इजम लिम्बुका अनुसार चेन्जी याक्थुङ चुम्लुङको कार्यक्रममा सहभागी हुन आएका बेला स्थानीय युवाहरूले कालोमोसो दलेका हुन्।
“उहाँले फेसबुकमा ‘नो केबलकार’ अभियानविरुद्ध टिप्पणी गर्नुभएको थियो। त्यसका लागि माफी माग्न आग्रह गरिएको थियो,” लिम्बुले भने, “युवाहरूले कालोमोसो दल्दा हामीले रोक्न प्रयास गर्यौं।”
यो घटनाले केबलकार निर्माणसम्बन्धी बहसलाई थप पेचिलो बनाएको छ। प्रहरी प्रशासनले घटनाको अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार













प्रतिक्रिया