काठमाडौं । चर्चित हास्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरूमाथि गरिँदै आएको निराधार प्रचार भन्दै गम्भीर आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत् एक भिडियो सन्देश जारी गर्दै उनीहरूले यस्ता भ्रामक र अनर्गल प्रचार रोक्न सबैलाई आग्रह गरेका छन्।
श्रेष्ठले उक्त सन्देशमा स्पष्ट पार्दै भने, “हामीले यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भन्ने गलत प्रचार भइरहेको छ। यस किसिमको निराधार आरोपले हामीलाई गहिरो पीडा पुगेको छ। संसारमा राम्रा र नराम्रा दुबै कुरा हुन्छन्, तर हामी सधैं राम्रो पक्ष छानेर मात्रै काम गर्दै आएका छौं। विशेष गरी, रोग तथा स्वास्थ्य सचेतना सम्बन्धी कार्यहरूमा हाम्रो योगदान निरन्तर रहँदै आएको छ।”
त्यसैगरी, आचार्यले आफूहरू हाल चलचित्र निर्माणमा संलग्न भएको अवस्थामा अनावश्यक प्रचारबाजी गरी दुःख दिने कार्य भइरहेको बताए। उनले थप प्रस्ट्याउँदै भने, “हामीले गरेका सबै कार्यहरू यूट्युब लगायतका सञ्चार माध्यममा उपलब्ध छन्। हामी सनातन धर्मको विरोधी होइनौं, तर हामी भ्रम फैलाउने कार्यको पक्षमा पनि छैनौं। २०५२ सालमा ‘सराध्य’ शीर्षकको सिर्जना गरेका थियौं, जहाँ पण्डित्याइँको आडमा हुने विकृति एवं विसंगतिलाई व्यंग्य गरिएको थियो। पण्डित हुनु नै भगवान हुनु होइन। म स्वयं पनि पण्डितको छोरो हुँ। त्यसैले, कपोकल्पित आरोप लगाएर समाजलाई भ्रमित पार्ने कार्य तुरुन्त बन्द गरिनुपर्छ।”
मह जोडीले सत्य तथ्यलाई तोडमोड नगर्न तथा तथ्यहीन प्रचार रोक्न सबैलाई अपिल गरेका छन्।
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार













प्रतिक्रिया