काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय पुनः सक्रिय राजनीतिक भूमिकामा देखिने संकेत जनाएका छन्। मुलुकको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले शासन सत्ताप्रति चासो देखाएका हुन्। व्यवस्था परिवर्तन भए पनि देशको अवस्था झन-झन नाजुक बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
राजगद्दी त्याग्ने क्रममा दिएको आफ्नो सम्बोधनमा उनले तत्कालीन परिस्थितिले आफूलाई बाध्य पारेको बताएका थिए। तत्कालीन समयमा बिदेशी चलखेल र राजनैतिक दलहरुको विरोधका कारण उनले राजदरबार छोड्नुपर्ने अवस्था आयो। नेपालमा भएका राजनीतिक परिवर्तनहरूले मुलुकको शासन प्रणालीमा ठूला परिवर्तनहरू ल्यायो तर देशको अवस्था झन-झन नाजुक बन्दै गएको देखिन्छ।
पूर्वराजा शाहले समय-समयमा विभिन्न मठमन्दिरहरूको भ्रमण गर्दै जनभावनाको अध्ययन गरिरहेका छन्। भारत भ्रमणमा उनले विभिन्न राजनीतिक वृत्तसँग भेटघाट गरेको खबर सार्वजनिक भएको छ। यसै बेला प्रजातन्त्र दिवसको अवसरमा पुर्वराजाले देशबासीको नाममा प्रवाह गरेको भिडियो सन्देशले फेरि बहस सिर्जना गरिदिएको छ। उनले देशको अवस्था सुध्रन नसकेको र जनताले चाहे आफू फेरि नेतृत्वदायी भूमिकामा रहनसक्ने संकेत गरेका छन्।
राजनीतिक प्रतिक्रिया र राजावादी दलको उत्साह
ज्ञानेन्द्र शाहको पछिल्लो सक्रियताबाट राजावादी धारका दलहरू निकै उत्साहित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू धवलशमशेर राणा, ज्ञानबहादुर शाही लगायतले पूर्वराजाको अभिव्यक्तिलाई ऐतिहासिक भनेका छन्। उनीहरूले राजसंस्थाको पुनःस्थापनाका लागि जनमत संग्रहको मागसमेत अघि सारेका छन्।
त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको अन्त्य षड्यन्त्रपूर्वक गरिएको आरोप लगाउँदै पुनःस्थापनाका लागि कदम चाल्नुपर्ने बताएका छन्। अर्कोतर्फ, एमाले महासचिव शंकर पोखरेलले भने पूर्वराजालाई उक्साएर राजनीतिक षड्यन्त्र गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
पूर्वराजाको मनोविज्ञान र भविष्यको बाटो
पूर्वराजा ज्ञानेन्द्र शाह उमेरको उत्तरार्द्धमा प्रवेश गरिसकेका छन्। उनको उत्तराधिकारीको प्रश्न जटिल देखिन्छ। छोरा पारस शाहको व्यवहारलाई लिएर प्रश्न उठ्ने गरेको छ भने, कतिपयले पारसका छोरा हृदेन्द्र शाहलाई भावी राजा बनाउनुपर्ने मत राख्छन्।
राजतन्त्रमा वंश परम्परागत शासन प्रणाली रहेको हुँदा यो विषयले गहिरो बहस सिर्जना गर्ने देखिन्छ। ज्ञानेन्द्र शाहका समर्थकहरू एकमतमा नरहेको अवस्था छ। उनी निकट दलहरू र संगठनमै स्पष्ट योजना र इमान्दारिताको अभाव देखिन्छ। यही कारण, पूर्वराजा शाह स्वयं जनभावना बुझ्ने प्रयासमा छन्। उनले उचित समयको प्रतीक्षा गरिरहेका छन् र राजनीतिक रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाइरहेका देखिन्छन्।
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार












प्रतिक्रिया