काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन र त्यसपछि उत्पन्न घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएको बताएकी छन्।

ओमानमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले घटनाबारे नेपाल सरकार निरन्तर सम्पर्कमा रहेको जानकारी दिइन्। मन्त्री देउवाले यस विषयमा ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग टेलिफोन संवाद गर्दै मृतक विद्यार्थीको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही तथा विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेको बताइन्।

advertisement

भारतीय मन्त्री सुरजले ओडिसा सरकारले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै न्यायिक प्रक्रिया अगाडि बढाउन उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका थिए।

मन्त्री देउवाले भनिन्, “उक्त घटनापछि नेपाल सरकारले तत्कालै कूटनीतिक पहल सुरु गरेको थियो। मृतकलाई न्याय र दोषीमाथि कानुनी कारबाही हुनु आवश्यक छ। त्यस्तै, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित पठनपाठन सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ।”

उनका अनुसार विश्वविद्यालय प्रशासनले औपचारिक रूपमा माफी माग्दै विद्यार्थीहरूलाई पुनः होस्टेलमा फर्काएको छ भने दुर्व्यवहारमा संलग्न कलेजका कर्मचारीहरूलाई कारबाही गरिएको छ। साथै, ओडिसा सरकारले घटनाको विस्तृत छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिसकेकोले निष्पक्ष अनुसन्धान तथा न्याय सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर पहल गरिरहेको उनले उल्लेख गरिन्।

परराष्ट्र मन्त्रालय र नेपाल राजदूतावास, नयाँ दिल्लीले ओडिसा सरकार तथा विश्वविद्यालय प्रशासनसँग नियमित सम्पर्कमा रहँदै आवश्यक समन्वय गरिरहेको मन्त्री देउवाले जानकारी गराइन्।

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com