काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले लोकतान्त्रिक व्यवस्थामा कसैलाई मात्र अभिव्यक्ति दिएको आधारमा जेल हाल्न नहुने बताएका छन्।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिएको आधारमा कारबाही गर्नु लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुने बताए।
हालै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजालाई जेल पठाउनुपर्ने अभिव्यक्ति दिएका सन्दर्भमा शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले लोकतान्त्रिक व्यवस्थामा सबै नागरिकलाई बोल्ने अधिकार संविधानले प्रत्याभूत गरिसकेको उल्लेख गर्दै भने, ‘राजतन्त्रको विरोध गर्दा हामीलाई जेल हालिएको थियो। तर, लोकतन्त्रमा सबैलाई बोल्ने स्वतन्त्रता छ, पूर्वराजालाई समेत। केवल अभिव्यक्तिका आधारमा जेल हाल्न मिल्दैन।’
शर्माले लोकतन्त्रलाई सुदृढ बनाउने क्रममा पूर्वराजासहित सबै नागरिकलाई कानूनी प्रक्रियाभित्र रहेर आफ्नो विचार राख्ने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार












प्रतिक्रिया