काठमाडौं – बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

लु ३ च ५५६९ नम्बरको जिप यात्रु लिएर बडिगाड गाउँपालिका–७, भिमगिठेबाट वडा नम्बर १०, दर्लिङतर्फ जाँदै गर्दा आज साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा निसीखोला गाउँपालिका–७, चोलाङका ७५ वर्षीय खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया जुना कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

advertisement

घटनास्थल सार्कीपाटामा उकालो चढ्ने क्रममा समस्या देखिएपछि जिप रोकिएको थियो। सोही क्रममा जिप पछाडि सरकिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुर्घटनामा बडिगाड–९ की ६३ वर्षीया तेजकुमारी बुढा, ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल, ३० वर्षीया सीता पौडेल घाइते भएका छन्। घाइतेमध्ये एकजनाको पहिचान खुल्न बाँकी छ। गम्भीर घाइते तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरी नायक उपरीक्षक विजय यादवले जानकारी दिएका छन्।

जिपमा १२ जना यात्रु सवार थिए। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको छ भने अन्य यात्रुहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com