मकवानपुर – बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारका क्रममा निधन भएको छ। सोमबार काठमाडौंको कलंकीस्थित अस्पतालमा उपचाररत थापालाई चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार ३६ वर्षीय थापाले सोमबार दिउँसो २ बजे कलंकीस्थित एक साथीको कोठामा विष सेवन गरेका थिए। कोठामा अचेत अवस्थामा फेला परेपछि उनलाई तत्कालय अस्पताल लगिएको थियो। सहिद मेमोरियल अस्पतालमा उपचारकै क्रममा साँझ ६:३८ बजे उनको मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए।

advertisement

थापाको साथबाट एक पृष्ठ लामो पत्र फेला परेको प्रहरीले जनाएको छ। सो पत्रमा सहकारीको रकम लेनदेनसम्बन्धी विषयमा आफ्नो नाम जोडिएपछि प्रतिष्ठामा आघात पुगेको उल्लेख छ।

गत आइतबार सार्वजनिक भएको एक अडियो क्लिपमा थापाको नाम जोडिएको बताइन्छ। सो अडियोमा सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्यसँग सहकारीसम्बन्धी विवाद मिलाउने विषयमा भएको कुराकानी समावेश रहेको मन्त्री श्रेष्ठले बताएका छन्।

मन्त्री श्रेष्ठले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै स्वकीय सचिव थापाको नाम बदनाम गर्न अडियो सम्पादन गरिएको दाबी गरेका छन्। उनले आफू र आफ्नो सचिवालयले सहकारी सुधारका लागि इमानदारपूर्वक काम गरिरहेकाले गलत नियतले विवाद सिर्जना गरिएको बताए।

थापाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ। साथै, अडियो क्लिप परीक्षणको प्रक्रियामा रहेको र त्यसपछि थप कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जनाएका छन्।

यसबीच, सुमेरु सहकारीलाई सरकारले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरिसकेको छ। सो निर्णयविरुद्ध सहकारी सञ्चालक पक्षले सर्वोच्च अदालतमा रिट दायर गर्दै अल्पकालीन आदेश लिएको छ। अदालतले छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको छ।

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com