काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम थाइल्यान्डको राजधानी बैंकक उडेकी छन्।
थाई एअरवेजको उडान नम्बर टीजी ३२० मार्फत मंगलबार दिउँसो साढे २ बजे बैंकक गएकी उनी केहीदिनमै स्वदेश फर्किने छिन्।
उनी उपचारका लागि थाइल्यान्ड गएको रास्वपा निकट स्रोतले जनाएको छ। गत माघ ३ गते उनी उपचारका लागि नयाँदिल्ली गएकी थिइन्। अहिले थप उपचारका लागि उनी थाइल्यान्ड गएकी हुन्।
तर, सोविताकी स्वकीय सचिव प्रकृति न्यौपानेले भने सांसद गौतम जलवायु सम्बन्धि विषयमा क्षेत्रीय युवा संसदमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेको जनाइन्। उनले भनिन् – ‘माननीय ज्यु स्वास्थ उपचारको लागि जानू भएको मलाई जानकारी छैन र यो कुरा होइन्, उहाँ जलवायु सम्बन्धी “नीतिनिर्माण र सहमति निर्माणका जटिलता” विषयको प्यानल छलफलमा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ । सोहि कार्यक्रममा सहभागी हुन उहाँ थाइल्यान्ड जानुभएको हो।’
सोविताको बैंकक भ्रमणबारे रास्वपाको संसदीय फाँटका पदाधिकारी पनि अनभिज्ञ छन्।
रास्वपाकी एक सांसद भन्छिन्, ‘किन थाइल्यान्ड जानुभयो हामीलाई थाहा छैन। यसबारेमा संसदीय दललाई पनि जानकारी नगराएको बुझिएको छ।’
*सांसद सोविता गौतमकी स्वकीय सचिव प्रकृति न्यौपानेको भनाई सच्याइएको* – सम्पादक
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार













प्रतिक्रिया