काठमाडौं । दिनदिनै विवादको दलदलमा डुब्दै गएका विबादित व्यापारी चन्द्र ढकाल आफू विरुद्ध समाचार प्रकाशन गर्ने मिडियालाई अफरै-अफर बाँढन लागेका छन्। पछिल्लो समय विभिन्न आर्थिक अनियमितता र शक्ति दुरुपयोग गर्दै ताप्लेजुङको पाथिभरा मन्दिरमा केवलकारको नाममा लुटधन्दा चलाउन खोजेको आरोपमा घेरिएका ढकालले आफ्ना आलोचक मिडियाहरूलाई तटस्थ बनाउन बिभिन्न अफरको सहारा लिएको चर्चाले मिडिया क्षेत्रमा तरंग उत्पन्न गरेको छ।
सूत्रहरूका अनुसार, लामो समय देखि केही ठुला भनिने मिडिया हाउसहरूलाई विज्ञापन, मोटो रकम तथा अन्य सुविधा दिएर नकारात्मक समाचार प्रकाशन रोक्न सफल चन्द्र ढकाल पछिल्लो समय पाथिभरा केवलकारको विवादलाई केहि मिडियाले नियमित प्रकाशन तथा प्रशारण गर्दा आफू नाङ्गिदै गएको महसुस गरेपछि मिडिया सेटिङ्गमा आफैं लागिपरेका छन्। केही दिन देखि आइएमई ग्रुपको कार्यालय पानीपोखरीमा मिडियाकर्मीहरुलाई बोलाउदै आफुलाई सहयोग गरे मिडियालाई पनि सहयोग गर्ने आश्वासन दिइरहेका छन्। केही दिन देखि आइएमई ग्रुपको कार्यलय पानीपोखरीमा मिडियाकर्मिहरुको चलपहल बाक्लो हुँदै गएको देखिन्छ। मिडिया सेटिङ्गमा चन्द्र ढकाल मात्रै होइनन् उनका प्रतिनिधिहरूले व्यक्तिगत भेटघाटमार्फत् समेत विभिन्न अफर प्रस्ताव गरिरहेका छन्। यो प्रयासले पत्रकारिता जगतमा नै ठूलो तरंग उत्पन्न गरेको छ भने पत्रकारिता क्षेत्रको विश्वासनियता माथी गम्भीर प्रश्न चिन्ह खडा गरेको छ।
केही मिडियाहरूले यस्ता अफर अस्वीकार गर्दै स्वतन्त्र र सत्य समाचार प्रकाशनमा प्रतिबद्ध रहेको जनाएका छन्। यद्यपि, केही सञ्चार माध्यमहरू भने आर्थिक प्रलोभनमा परेर ढकाल सम्बन्धी समाचारहरूमा नरम हुँदै गएको देखिन्छ। नेपाली टेलिभिजनको क्षेत्रमा स्थापित २ टेलिभिजन खरो रुपमा ढकालको कर्तुतको पर्दादास गर्दै आइरहेकोमा पछिल्लो समय मौन हुनुले सेटिङ्ग मिलेको चर्चा हुन थालेको छ।
आफ्नो प्राइभेट कम्पनीको स्वार्थ पूरा गर्न ढकालले पब्लिक कम्पनीको दुरुपयोग गरेको पाइएको छ। उनले मिडियाको सेटिङ मिलाउन ग्लोबल आइएमई बैंक लगायत अन्य पब्लिक कम्पनी मार्फत करोडौं रुपैयाँ बिज्ञापनको नाममा बाँढेका हुन्। ढकालको सेटिङ्गमा लाखौंको बिज्ञापन पाएपछि दंग परेका मिडियाहरु मौन छन्। ग्लोबल आइएमई बैंक तथा आइएमई मनिट्रान्सफरको बिज्ञापन हालेका अपवाद बाहेकका कुनैपनी मिडियाले चन्द्र ढकाल बारे समाचार प्रकाशित गरेको देखिंदैन्।
यस विषयमा चन्द्र ढकाल र उनको टोलीसँग सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन्। तर, मिडिया स्वतन्त्रतामाथि यस किसिमका प्रलोभन र दबाबले गम्भीर प्रश्नहरू उठाएको जानकारहरु बताउँछन्।
प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार













प्रतिक्रिया