विश्व वन्यजन्तु दिवस । संसारैभर जनावर, प्राकृतिक सम्पदा र मान्छेको सभ्यताको परनिर्भरता झल्काउन यो दिवस मनाइन्छ । र, यो संसार सबै प्राणीको एक साझा घर हो भन्ने चेतना यो दिवसले फैलाउँछ । वन्यजन्तु त्रस्त छन् मान्छेहरुबाट, चोरी सिकारी–पैठारी र तस्करीबाट ।
नेपाल पनि यो डरबाट मुक्त छैन । पर्यावरण चक्रमा संसारका सबै प्राणीको आफ्नै विशिष्टतम महत्व छ । र, तिनको सुरक्षा गर्नु आजको आवश्यकता हो भन्ने बुझाउन यो दिवसले सघाउँछ । यो दिवसको सन्दर्भमा म फरक–फरक समय वाइल्ड लाइफ फोटोग्राफी गर्दाताका आफ्ना क्यामरामा कैद भएका सम्पूर्ण वन्यजन्तु सम्झिरहेको छु । विभिन्न वन्यजन्तुका फोटो क्यामरामा कैद गर्न म तिनका बासस्थान पछ्याउँदै बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षित क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष, लामटाङ राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्रसम्म पुगेको छु । त्यहाँ वन्यजन्तु खोज्दै महिनौं बिताएको छु, तिनलाई पछ्याएको छु । र, तिनै यात्रामा खिचिएका बाघ, हात्ती, गैंडा, राजलोखर्के, नीर बिरालो, बँदेल, लगुना, चित्तलका तस्बिर यहाँ प्रकाशित छन् ।

सन् १९७३ मा वन्यजन्तुको चोरीसिकार र आखेटोपहार ओसारपसार रोक्न वासिङ्टन डीसीमा एउटा महत्वपूर्ण सन्धि भएको थियो । यस सन्धिमा १८४ राष्ट्रले सहभागिता जनाएका थिए । नेपालले पनि सन् १९७५ मा यो सन्धिमा हस्ताक्षर गर्यो । हाम्रो देशमा हालसम्म २१२ प्रजातिका स्तनधारी वन्यजन्तु, ८९६ प्रजातिका चरा र ५७ प्रजातिका सरीसृप पाइन्छन् । वन्यजन्तु संरक्षणमा निकै उतारचढाव पार गरेको नेपालले हाल विश्वमा राम्रो दृष्टान्त पेस गरेको छ । नेपालले पाटेबाघ, एकसिंगे गैंडा, हिउँचितुवा, जंगली हात्ती जस्ता ठूलाठूला लोपोन्मुख जनावर सँगसँगै चमेरा, मुसा जस्ता स–साना लोपोन्मुख जनावरको समेत संरक्षण गरेको छ । आउँदा दिनहरु वन्यजन्तुका लागि सुन्दर रहुन् । यो विश्व वन्यजन्तु दिवसले मानिसहरुमा वन्यजन्तुप्रति मायालुभाव जगाओस्, शुभकामना !
प्रकाशित मिति: १७ फाल्गुन २०८१, शनिबार













प्रतिक्रिया