काठमाडौं – दशरथ रंगशालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि दर्शकमाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई सत्ताले संरक्षित गरेको पाइएको छ । सोमबार साँझ खेल भइरहेकै बेला प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकमाथि युवा संघका कार्यकर्ता जंग तामाङसहितले आक्रमण गरेका थिए।

घटनास्थलमै खटिएका सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्न सक्ने अवस्था हुँदाहुँदै पनि कुनै कारबाही गरेनन्। उल्टै, सार्वजनिक रूपमा कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेपछि समेत ‘उजुरी नआएको’ भन्दै प्रहरी मुकदर्शक बन्यो।

advertisement

कुटपिटमा संलग्न सिन्धुपाल्चोक निवासी तामाङ युवा संघका सक्रिय सदस्य हुन्। सुरक्षाकर्मीहरू घटनास्थलमै उपस्थित भए पनि कुटपिट रोक्ने प्रयास गर्नुको सट्टा उल्टै पीडितलाई रंगशालाबाट हटाउने काम गरेको देखिन्छ। भिडियोमा प्रहरी स्वयं कुटपिटमा संलग्न कार्यकर्तालाई पक्राउ नगरी उनीहरूलाई नै जिम्मा लगाएको स्पष्ट देखिन्छ।

प्रहरी प्रशासनको असंवेदनशीलता

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले रंगशालामा भएको घटनाबारे अनुसन्धान भइरहेको बताए। ‘भिडियो भेरिफिकेसनको प्रक्रिया चलिरहेको छ, तर हालसम्म कुनै आधिकारिक उजुरी नआएकाले थप छानबिन गरिएको छैन,’ उनले भने।

तर, सामाजिक सञ्जालमा भाइरल भिडियोले घटनालाई पुष्टि गरिसकेको अवस्थामा पनि प्रहरीले कारबाही अघि नबढाउनु गम्भीर लापरबाही मानिएको छ।

युवा संघको अस्वीकृति, तर शक्तिको प्रदर्शन

युवा संघका उपाध्यक्ष महाराज गुरुङले भने घटनामा संलग्नहरू युवा संघका कार्यकर्ता नभएको दाबी गरेका छन्। उनका अनुसार कुटपिटमा संलग्नहरू एमाले समर्थक मात्र हुन्। ‘केहीबेर भनाभन मात्रै भएको थियो, समस्या तुरुन्तै समाधान भयो,’ उनले दाबी गरे।

तर, स्रोतका अनुसार रंगशालामा चार हजारभन्दा बढी युवा कार्यकर्ता योजनाबद्ध रूपमा परिचालित थिए। प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्नेलाई ‘ठिक पार्न’ भनेर विशेष निर्देशन दिइएको थियो। एन्फाले १६ हजार टिकट बिक्री गरेको भए पनि युवा संघका कार्यकर्तालाई निःशुल्क पास उपलब्ध गराइएको थियो।

सांसदहरूको कारबाहीको माग

घटनालाई लिएर सांसदहरूले रंगशालामा दर्शक कुटपिटमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सत्ताको आडमा परिचालित यस्तो हिंसात्मक प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।

त्यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीले उक्त घटनालाई ‘ओलीतन्त्रको अराजकता’ को संज्ञा दिँदै राणा शासनको भन्दा बढी दमनकारी गतिविधि भएको आरोप लगाए। ‘प्रहरीकै सामुन्ने सर्वसाधारणमाथि निर्घात कुटपिट भयो, तर सुरक्षाकर्मी मुकदर्शक बने,’ उनले भने।

 

प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com