काठमाडौं – नेपाल सरकारले सन् २०२४ मा विभिन्न कारणले ५४ जना अमेरिकी नागरिकलाई निष्कासन (डीपोर्ट) गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले भिसाको म्याद सकिएर पनि लुकीछिपी नेपालमा बसेका ती अमेरिकी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी देश निकाला गरेको हो।
अध्यागमन विभागका एक अधिकारीका अनुसार, “नेपालको अध्यागमन कानुनअनुसार, भिसाको समयसीमा सकिएपछि नेपालमा अवैध रूपमा बस्न नपाइने व्यवस्था छ। सोही अनुसार, ती अमेरिकी नागरिकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै निष्कासन गरिएको हो।”
सन् २०२४ मा सरकारले कूल ४९४ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। तीमध्ये अधिकांश भिसा अवधि समाप्त भएर पनि नेपालमा अवैध रूपमा बसेका थिए। त्यस्तै, ४५ जना अन्य विभिन्न गम्भीर कसूरमा संलग्न भएको आरोपमा निष्कासन गरिएको स्रोतको दाबी छ। गृह मन्त्रालयका अनुसार, निष्कासित विदेशी नागरिकहरूमध्ये केही जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार जस्ता गम्भीर अपराधमा समेत संलग्न थिए।
नेपालको अध्यागमन ऐन २०४९ अनुसार, कुनै पनि विदेशी नागरिकलाई अवधि तोकी वा नतोकी निष्कासन गर्न सकिन्छ। त्यस्तै, अध्यागमन कार्यविधि २०६५ अनुसार, अपराधको प्रकृति हेरेर ती व्यक्तिलाई १० वर्षसम्म नेपाल प्रवेश गर्न रोक लगाउने व्यवस्था समेत छ।
नेपालमा पर्यटक भिसा लिएर आएका विदेशी नागरिकहरू अधिकतम १५० दिनसम्म बस्न पाउँछन्। तर, सो समयसीमा नाघेर नेपालमा बसेमा उनीहरू ओभर स्टे भएको मानिन्छ र कानुनी कारबाही गरिन्छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार













प्रतिक्रिया