काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजाले फागुन ६ गते सार्वजनिक रूपमा व्यक्त विचारप्रति आश्चर्य व्यक्त गरे।
‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ। उहाँको अभिव्यक्ति सुनेर म छक्क परेँ,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! के भाको छ र देशलाई बचाउन ? यस्ता अस्थिर गतिविधिले मुलुकलाई अप्ठ्यारोमा पार्ने काम मात्र हुन्छ।’
पूर्वराजा शाह र राजावादी समूहका गतिविधिले लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्याउने ओलीको तर्क थियो। ‘सरकार संविधानअनुसार चल्नुपर्छ भन्ने सिकाउनुको सट्टा उहाँले मलाई साथ देऊ भन्नुहुन्छ,’ ओलीले थपे, ‘राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ, तर के कुरामा साथ चाहिएको हो ?’
यस क्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै एक-दुई वर्षभित्र सुधार ल्याउने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार













प्रतिक्रिया