काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी सरकारसँग नेपाललाई प्रदान गरिँदै आएको आर्थिक सहायता निरन्तर जारी राख्न आग्रह गरेकी छिन्। उनले नयाँ दिल्लीमा आयोजित ‘राइसिना संवाद’ कार्यक्रममा सहभागिता जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग भेटवार्ता गरिन्।
भारतको विदेश मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी रहेका मन्त्री डा. राणा र अमेरिकी अधिकारी गिलबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो। परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार सो अवसरमा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भयो।
मन्त्री राणाले विशेष रूपमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग पुनः आग्रह गरिन्। उनले यसअघि पनि अमेरिकी सरकारलाई सोही अनुरोध गरिसकेको उल्लेख गर्दै अझैसम्म जोशीको उद्धार हुन नसकेकाले थप सहयोग आवश्यक रहेको बताइन्।
सन् २०२३ को अक्टोबरमा इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरेको थियो। उनको रिहाइका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय नेता एवं समकक्षीहरूसँगको भेटमा मन्त्री राणाले जोशीको मुक्तिका लागि सहयोगको अपिल गर्दै आएकी छन्।
उक्त भेटवार्तामा वरिष्ठ सुरक्षा निर्देशक गिलले अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग निरन्तर जारी रहने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार













प्रतिक्रिया