काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो तथा पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा देउवाले कांग्रेस र सरकारबीचको सहकार्यलाई पुनः पुष्टि गर्दै भने, “प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं। हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं।”

advertisement

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानुबुबा’ पुस्तक विमोचन समारोहमा देउवाले आफ्नो पुरानो मित्रता स्मरण गर्दै ओलीप्रति आफ्नो विश्वास दोहोर्याए। उनले थपे, “हाम्रो सम्बन्ध राम्रो छ, अहिले पनि राम्रोसँग अघि बढिरहेका छौं। कांग्रेसबाट प्रधानमन्त्रीलाई पूरा समर्थन छ।”

यसैबीच, कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालालगायतका नेताहरू कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असहमति जनाइरहेका बेला देउवाले भने प्रधानमन्त्री ओलीलाई स्पष्ट रूपमा समर्थन रहेको बताए।

त्यस क्रममा देउवाले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै गिरिजाप्रसाद कोइरालाको योगदान उल्लेख गरे। उनले भने, “गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोलें। पछि मिलौं भन्नुभयो, फेरि मिल्यौं। त्यही एकताको प्रस्ताव नभएको भए म कांग्रेसको सभापति बन्न सक्दिन थिएँ।”

पार्टी एकताको प्रक्रियाबारे बोल्दै देउवाले थपे, “म पार्टी फोडेर हिँडेको मान्छे, तर गिरिजाबाबुले फेरि मिलौं भन्नुभयो, मिल्यौं, र अहिले सभापति बन्न पाएँ।”

 

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com