काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको आवाज सुन्छ भन्ने विश्वास राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई धन्यवाद दिएका छन्।

थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) को छैटौं शिखर सम्मेलनमा सहभागी भई शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले शिक्षक आन्दोलनबारे जिज्ञासा राखेका थिए।

advertisement

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले शिक्षकहरूले सरकारप्रति भरोसा राखी आफ्ना मागहरू राख्न सडकमा उत्रिएको बताएका छन्। उनले शिक्षकहरूको आवाज सुन्ने र उनीहरूको जायज माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

“शिक्षकहरूले आवाज उठाएपछि सरकारले सुन्छ भनेर विश्वास गरेर प्रदर्शनमा उत्रिनुभयो, यसका लागि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरूले पहिले झैँ सरकारले सुन्दैन कि भन्ने आशंका गर्नुभयो होला, तर अब संवादमार्फत समस्याको समाधान हुन्छ। छलफल गरेर कति र कसरी गर्न सकिन्छ भन्ने टुंगो लगाइनेछ।”

उनले शिक्षकहरूको मागहरू वार्ता र संवादको माध्यमबाट समाधान गरी चाँडै उनीहरूलाई पुनः आफ्नो पेसागत भूमिकामा फर्काइने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com