काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। उनले सरकार जिम्मेवार ढंगले अघि नबढेकै कारण राजधानी काठमाडौंमा दैनिक रूपमा विभिन्न आन्दोलनहरू भइरहेको बताएका छन्।

काठमाडौंमा आयोजित ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले भने, “आज राजधानीको सडकमा दुई/तीन वटा आन्दोलन एकसाथ चलिरहेका छन्। सरकारले सही तरिकाले काम गरेको भए यस्ता आन्दोलन हुने थिएनन्।”

advertisement

महामन्त्री थापाले सरकारको काम गर्ने गति कमजोर भएको उल्लेख गर्दै अब सरकारको कामकारबाहीबारे खुलेर छलफल गर्नुपर्ने बेला आएको बताए। “हामी सरकारमा छौं, त्यसैले हाम्रो जिम्मेवारी पनि छ। तर, सरकारले जस्तो प्रकारको काम गर्नुपर्थ्यो, जसले जनतामा विश्वास पैदा गर्न सक्थ्यो, त्यो गर्न सकिरहेको छैन,” उनले भने ।

उनले लघुवित्त तथा सहकारी पीडितहरू आफ्नो बचत फिर्ता पाउन सडकमा आन्दोलन गर्न बाध्य भएको उल्लेख गर्दै संसद् बाट कानुन बनाएर समाधानका उपायहरू प्रस्ताव गरिए पनि सरकारले त्यसमा कुनै पहल नगरेको गुनासो गरे।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। कांग्रेसले नछुनु भन्ने विषयमा समेत प्रधानमन्त्रीले हात हालिरहेको आरोप उनले लगाए। “हामीले बारम्बार चेतावनी दिएका थियौं– नचाहिने ठाउँमा हात नहाल्नुस्। कतिपय नियुक्ति सरकारको अधिकारभित्र पर्छ, तर सबै ठाउँमा अधिकार प्रयोग गर्नु बुद्धिमानी होइन। बेकारमा आगोमा हात हाल्दा पोल्न सक्छ,” उनले भने।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लक्षित गर्दै उनले थपे, “हामीले पार्टीभित्र पनि भन्यौं, सार्वजनिक रूपमै भन्यौं, तर त्यो चेतावनीको बेवास्ता गरियो। त्यसको परिणामस्वरूप सडकमा जनआन्दोलन देखिएको हो।”

शिक्षक आन्दोलनबारे पनि महामन्त्री थापाले सरकार उदासीन देखिएको बताए। कांग्रेसले चार/पाँच महिनाअघि नै शिक्षकका माग सम्बोधनका लागि उपसमिति गठन गरी काम अघि बढाउन सरकारलाई आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ। “अब विज्ञप्ती जारी गरेर मात्र हुँदैन, सबै सरोकारवालालाई एउटै थलोमा ल्याएर यथाशीघ्र कानुन निर्माण गर्न आवश्यक छ,” उनले जोड दिए।

प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com