काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीनकुनेमा भएको हालको घटनासँग कुनै सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले अनाहकमा बदनाम गर्न खोजेको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित ‘प्रतिवद्धता सभा’ लाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन्। उनले वर्तमान सत्ता र गणतन्त्रवादी दलहरू जानाजान राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको अवधारणा बदनाम गर्न लागिपरेको आरोप लगाए।
अध्यक्ष थापाले भने, “लोकतन्त्रको नाममा भ्रष्टाचार गर्दै चार पुस्तासम्म पुग्ने सम्पत्ति जम्मा गर्नेहरू नै अहिलेको गणतन्त्रवादी नेतृत्व हो। देश–विदेशमा त्यो अवैध आम्दानी लुकाउनका लागि राजसंस्थामाथि षड्यन्त्र भइरहेको छ।”
उनका अनुसार, चैत १५ गते घटेको घटनाबाट निराश हुनुपर्ने कुनै कारण छैन, बरु त्यसबाट पाठ सिक्दै आन्दोलनलाई नयाँ ढंगमा अगाडि बढाउनुपर्ने आवश्यकता छ।
“पूर्वराजा ज्ञानेन्द्र शाहसँग त्यो घटनाको कुनै सम्बन्ध नभएको सबैलाई थाहा छ। तर प्रधानमन्त्रीदेखि अन्य नेतासम्मले उहाँमाथि अनावश्यक आरोप लगाएर जनतालाई भ्रममा पार्ने प्रयास गरेका छन्, जुन जनताले कदापि स्वीकार गर्दैनन्,” थापाले स्पष्ट पारे।
उनले आन्दोलनमा लागिरहेका राजतन्त्र समर्थकहरुलाई सचेत र एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै भने, “यदि अहिले पनि हामी सचेत हुन सकेनौं भने हाम्रो विचार र अभियान सधैंका लागि समाप्त हुन सक्छ।”
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार













प्रतिक्रिया