काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हाल पनि भ्रष्टाचार भइरहेकामा गहिरो शंका व्यक्त गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको पक्षमा स्पष्ट प्रतिबद्धता जनाउँदै भ्रष्टाचारप्रति कडाइका साथ उभिनुपर्ने धारणा राखे।
प्रधानमन्त्री ओलीले भने, “आज हामीलाई सुशासन र समृद्धिको बाटो अँगाल्नुपर्छ। सुशासनमा कुनै सम्झौता गर्न सकिन्न। भ्रष्टाचारसँग सम्झौता गर्ने कुरा नै कल्पनातीत हो। मलाई गम्भीर आशंका छ—भ्रष्टाचार फेरि पनि कतै न कतै चलिरहेको छ। म स्वयंले भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ। तर, कहिलेकाहीँ थाहा नपाईकनै यस्तो कार्य हुनसक्छ।”
भ्रष्टाचारको अन्त्य गर्न सबै क्षेत्रको सहयोग अपरिहार्य भएको बताउँदै प्रधानमन्त्रीले निजी क्षेत्रलाई पनि सरोकारवाला र जिम्मेवार साझेदारको रूपमा सहकार्यको आह्वान गरे। उनले भने, “यस्ता विकृति रोक्न तपाईहरूको साथ र सहयोग आवश्यक छ। चेम्बर अफ कमर्श जस्ता संस्थाको समर्थनबिना सुशासनको लक्ष्य पुरा गर्न गाह्रो हुन्छ।”
प्रधानमन्त्रीको भनाइले सरकारभित्रै अझै पनि पारदर्शिता र जवाफदेहिताका विषयमा चुनौती कायमै रहेको संकेत गरेको छ।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार













प्रतिक्रिया