चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लामा नफसिन आमजनतालाई आग्रह गरेका छन् । चितवनस्थित इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नयाँ वर्षको दिन चितवनमै आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षदेखि सरकार परिवर्तन हुने अभिव्यक्ति दिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले जवाफ दिँदै भने, “यो सरकार पूर्णतः स्थिर छ । अब देशमा स्थायित्व कायम हुन्छ।” प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना, राष्ट्रका लागि बलिदान दिएका र ऐतिहासिक महत्व बोकेका दुई प्रमुख पार्टीहरू किन एक ठाउँमा आए भन्ने विषयमा प्रष्ट पार्दै भने, “देशको समृद्धि, स्थायित्व र विकासका लागि साझा प्रयास आवश्यक भएकाले हामी एक ठाउँमा आएका हौं ।” उनले वर्तमान सरकार नै देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने दाबी गरे । “अब हल्लामा होइन, विकासमा विश्वास राखौं,” प्रधानमन्त्रीको आह्वान थियो। चितवनको पर्यटन सम्भावना उल्लेख गर्दै इच्छाकामना गाउँपालिकाले उक्त क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने उनले बताए ।
साथै, संघीय र प्रदेश सरकार दुवै मिलेर चितवनको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरे।
प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया