काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले हाल जारी शिक्षक आन्दोलनप्रति कडा असन्तोष व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आन्दोलनरत शिक्षकहरू समस्याको समाधानमा गम्भीर नदेखिएको आरोप लगाएकी छिन्।

झाँक्रीले लेखेकी छिन्, “म आफैंले यो आन्दोलनलाई नजिकबाट नियालिरहेकी छु। यतिका दिनसम्म आन्दोलनको नाममा सडकमा नाचगान, नाराबाजी मात्र भइरहेको देखिन्छ। के शिक्षकहरूको मागप्रति कसैले चासो नै देखाएनन् त भनेर सोचें। मध्यस्थकर्ताको भूमिकामा केही योगदान गर्न सकिन्छ कि भनेर शिक्षक, सरकार र संसदबीच संवाद र समन्वय गराउने प्रयास गरें। तर आन्दोलनरत पक्ष त संवादमै आउन तयार छैनन्। उनीहरू भन्छन्– शिक्षा ऐन तत्काल पास नभए विद्यालय फर्किंदैनौं। के ऐन सडकबाट पास हुन्छ र?”

advertisement

उनले थप प्रश्न गरेकी छिन्, “संसद र सरकारले आफ्नो कानुनी प्रक्रिया अनुसार विधेयक पारित गर्ने हो कि सडकमा उभिएर? सडकमा रमाइलो हेर्न पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरूले सडकबाटै ऐन पारित गरिदिन्छन्? समितिमा दफावार छलफल भइरहेको विधेयक पारित नहुँदासम्म विद्यालय नखोल्ने भनाइ कत्तिको जायज हो? राज्यको तलब खाने शिक्षकले भर्ना र पठनपाठनको महत्वपूर्ण समयमा विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्धकारमा धकेल्न मिल्छ?”

सरकारले ऐन प्रक्रियागत ढंगबाट अघि बढाउने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै झाँक्रीले शिक्षकहरूलाई विद्यालय फर्कन आग्रहसमेत गरेकी छिन्।

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com