काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफू आवश्यक परे राष्ट्रपतिमा जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् । शनिबार प्यूठानमा प्रेस सेन्टरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले पार्टीको निर्णय अनुसार विगतमा उपराष्ट्रपति बनेझैं, आगामी दिनमा राष्ट्रपतिका रूपमा पनि योगदान दिन आफू तत्पर रहेको स्पष्ट पारे । उनले भने, “पार्टीले मलाई जहाँ खटायो, म जिम्मेवारी सम्हाल्न कहिल्यै पछि हटेको छैन ।
अहिले पनि पार्टीको निर्णयअनुसार पुनः संगठनमा फर्किएको हुँ। यदि पार्टीले राष्ट्रपतिको जिम्मेवारी दिन चाह्यो भने म तयार छु।” पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिले पार्टी जिम्मेवारी लिन नपाउने भन्ने कुनै संवैधानिक वा कानुनी बाधा नरहेको पुनको स्पष्टोक्ति छ। “कानुनले रोकिएको छैन। कुरा व्यक्तिको चाहना र पार्टीको आवश्यकता अनुसार तय हुन्छ। संवैधानिक अड्चन भएको भए पार्टीले कसैलाई अगाडि सार्ने थिएन,” उनले भने। पुनले आफू राजनीतिक अभियानबाट अघि बढेको नेता भएको उल्लेख गर्दै, “हामी कम्युनिष्ट कार्यकर्ता, हाम्रो लक्ष्य पुरा नभएसम्म पार्टी जिम्मेवारीबाट पछि हट्दैनौं,” भन्दै दृढता प्रकट गरे ।
राजतन्त्र पक्षधरहरूलाई जनताले साथ नदिने उल्लेख गर्दै उनले तीनकुने घटनाले उनीहरूको उद्देश्य पूर्ण रूपमा उजागर भएको बताए। “माओवादी कार्यक्रम विथोल्नै उद्देश्यले उनीहरूले उस्तै दिनमा कार्यक्रम राखे, मण्डले चरित्र देखाए, र अव्यवस्था मच्चाए। त्यसैबाट जनताले बुझिसके— तिनको नियत के हो,” उनले टिप्पणी गरे ।
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार












प्रतिक्रिया