काठमाडौं । राजसंस्था पुनर्स्थापना अभियानमा सक्रिय रहेको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले नेपालमा पहिलो पटक ‘पृथ्वी पथ’ नामक आफ्नै राजनीतिक दर्शन औपचारिक रूपमा घोषणा गरिएको बताएका छन्।
शनिबार राजधानीमा राजावादी समूहद्वारा आयोजित ‘पृथ्वी पथको आवश्यकता’ विषयक विशेष कार्यक्रममा बोल्दै नेपालले विगतमा नेपालले कहिल्यै आफ्नै मौलिक राजनीतिक सिद्धान्त विकास गर्न नसकेको उल्लेख गरे।
‘धेरैले नेपालका लागि मार्गचित्र के हो भनेर प्रश्न गरिरहेका थिए,’ उनले भने, ‘नयाँ वर्षको सन्देशमार्फत पूर्व राजा ज्ञानेन्द्र शाहबाट यो मार्गचित्र स्पष्ट रूपमा सार्वजनिक भएको छ। अब नेपालको आफ्नै वाद, आफ्नै पथ “पृथ्वी पथ” हो भन्ने घोषणा गरिएको छ।’
उनले विगतका कम्युनिस्ट आन्दोलनहरू विदेशी विचारधाराको नक्कलमात्र भएको टिप्पणी गरे। ‘जर्मनीमा जन्मिएका मार्क्सको विचारलाई नेपालमा ल्याएर मार्क्सवादी भनियो, तर त्यो नेपालको मौलिक विचार थिएन,’ उनले भने, ‘तेस्तै, लेनिनवाद रसियाको थियो, माओवाद चीनको, ती नेपालका होइनन्। ती विचार र तिनका अनुयायीहरू कहिल्यै पनि नेपाली मूलका थिएनन्।’
प्रवक्ता नेपालका अनुसार, पहिलो पटक नेपालका लागि मौलिक राजनीतिक दृष्टिकोणको रूपमा ‘पृथ्वी पथ’ को अवधारणा पूर्व राजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेका हुन्।
‘पूर्व राजा ज्ञानेन्द्रबाटै नेपालको मूल वाद, मूल पथ “पृथ्वी पथ” हुनेछ भन्ने घोषणा आएको छ,’ नेपालले भने, ‘यो अब नेपालको आफ्नो वाद हो, आफ्नो मार्ग हो। यही पथले राष्ट्रको भविष्य निर्देशित गर्नेछ।’
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार













प्रतिक्रिया