” मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा “
कञ्चनपुर — नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश लेखा समितिका सदस्य बालागिरी कुँवरसहित ७० जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्दै सामूहिक राजीनामा दिएका छन् । एक विज्ञप्तिमार्फत् कुँवरले करिब ३५ वर्ष लामो राजनीतिक यात्रा अन्त्य गर्दै ‘ मातृभूमि जागरण अभियान ’ मा सहभागी हुने घोषणा गरेका हुन्।
कुँवरले २०३६ सालदेखि बहुदलीय व्यवस्था स्थापनाको आन्दोलनमा होमिएको आफ्नो राजनीतिक यात्रा २०४६ को जनआन्दोलन, जनयुद्धको चुनौतीपूर्ण समय र डा. भीम रावलको नेतृत्वमा सञ्चालित शान्ति अभियान हुँदै निरन्तर सक्रिय रहँदै आएको स्मरण गरेका छन् ।
उनले २०५४ र २०७४ सालमा दुईपटक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनमुखी विकास निर्माणमा योगदान दिएको उल्लेख गर्दै, समाजवाद र साम्यवादको सपना बोकेर जनताको घरदैलोमा पुगे पनि त्यो सपना साकार नहुँदा आफूजस्ता कार्यकर्ताहरूमा गहिरो निराशा पैदा भएको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी प्रवृत्ति, निरङ्कुश कार्यशैली, पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचारमा लिप्त नेताहरूलाई संरक्षण, र जनवादी मूल्यहरूको ह्रासले गर्दा आफूहरूले पार्टी परित्याग गर्ने निर्णयमा पुगेको कुँवरसहितका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ।
नेता डा. भीम रावलको संयोजनमा अघि बढाइएको मातृभूमि जागरण अभियानले भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण, सुशासनको प्रवर्द्धन र समृद्ध नेपालको निर्माणलाई मुख्य लक्ष्य बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। कुँवरले इमानदार नेता, कार्यकर्ता तथा जनतालाई उक्त अभियानमा सहभागी भई नयाँ वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा जुट्न आह्वान गरेका छन्।
रावल नेतृत्वको अभियानमा हालसम्म नेकपा एकीकृत समाजवादीबाट पनि पाँच जना नेता-कार्यकर्ता जोडिएको जनाइएको छ ।



प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार













प्रतिक्रिया