काठमाडौं — राजतन्त्र पुनःस्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूको पक्राउप्रति कडा आपत्ति जनाएको छ ।
आइतबार निषेधित क्षेत्र तोडेर सिंहदरबार अगाडि विरोध प्रदर्शनमा सहभागी भएका अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएपछि समितिले यस कदमलाई नागरिक स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपको रूपमा लिएको जनाएको हो ।
“पञ्चायती कालमा समेत जनप्रतिनिधिहरूले सिंहदरबारभित्र वाक स्वतन्त्रता प्रयोग गरी व्यवस्था प्रतिको असन्तुष्टि प्रकट गर्न पाउने अधिकार राख्थे,” विज्ञप्तिमा भनिएको छ, “तर अहिले जनभावनाविरुद्धको प्रदर्शन तथा अभिव्यक्तिको स्वतन्त्रतामा राज्यले बलपूर्वक रोक लगाउँदैछ, जुन निन्दनीय छ । ”
समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा सरकारको यो कदम अलोकतान्त्रिक र दमनकारी भएको उल्लेख गरिएको छ। साथै, समितिले हालैको तीनकुने घटनाको निष्पक्ष अनुसन्धानका लागि न्यायिक आयोग गठन गर्न आग्रह गर्दै गिरफ्तार गरिएका सबै नेताहरूको अविलम्ब रिहाइको मागसमेत गरेको छ।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार













प्रतिक्रिया