काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई तीव्र शब्दमा आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत रविलाई टोले गुण्डा भन्दै उनले लामिछानेलाई “पटके” अर्थात् पटक–पटक जेल आउने–जाने व्यक्तिको संज्ञा दिएका छन्।
डा. ढकालले लेखेका छन्, “रवि दाइका मुद्दाहरूको फैसला र आदेश करिब १८–२० वटा अदालतबाट हुँदैछ। कतैबाट छुट्न सक्छन्, कतैबाट फेरी प्रक्राउ पर्न सक्छ। त्यसैले जेल आउजाउ भइरहने भए अचम्म मान्नुपर्ने केही छैन। हामीले टोलमा देख्ने गुण्डा–ठगहरू पनि यस्तै गरेर जेल जाने–आउने गर्छन्। यस्ता व्यक्तिलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ। रवि दाइ पनि अहिले त्यही स्थितिमा पुगिसक्नुभएको छ।”
उनको भनाइमा, रविको यो पटक–पटक जेल धाउने प्रवृत्तिले पार्टीलाई गम्भीर क्षति पुर्याइरहेको छ। उनले आरोप लगाए कि रविको कारण न पार्टी अगाडि बढ्न सक्छ, न वैकल्पिक राजनीतिको अभियानलाई नै गति दिन सकिन्छ।
“रवि दाइलाई नबिर्सी न पार्टीको विकास सम्भव छ, न वैकल्पिक राजनीतिले कुनै दिशा पाउँछ। उहाँको जेल यात्राले निरन्तर पार्टीभित्र र बाहिरको गतिविधिमा अवरोध सिर्जना गरिरहेको छ,” डा. ढकालले लेखेका छन्।
उनले थपे, “अन्त्यमा के हुन्छ भने न रास्वपा अघि बढ्न सक्छ, न नयाँ शक्ति खडा हुन्छ। नतिजा फेरि त्यही पुरानै शक्ति—काङ्ग्रेस, एमाले र माओवादी जस्तैमा सीमित हुन्छ। तीतो लागे पनि यथार्थ यही हो।”
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार













प्रतिक्रिया