काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ।
मंगलबार उक्त इजलासमा रिटमाथि सुनुवाइ हुने भएको हो । यसअघि उक्त रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर, सोमबार फुयालको इजलासले ‘हेर्न नमिल्ने’मा राखेको थियो । रिट रवि लामिछानेकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा दायर गरेकी हुन्।
यसअघि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेश बदर गरियोस् भन्ने मागसहित सर्वोच्चमा दायर अर्को रिटमा चैत ३१ गते भएको सुनुवाइपछि सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थियो।
लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन्।
रूपन्देहीस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उनलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालत तुलसीपुरले जिल्ला अदालतको आदेश बदर गर्दै चैत २२ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया