काठमाडौं । तीनकुनेमा राजतन्त्र समर्थक प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिन सुरु गरिएको छ।
प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलमा उपस्थित गराएर सोधपुछ प्रक्रिया अघि बढाइएको हो। सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, सोमबारदेखि प्रसाईंको बयान सुरु गरिएको हो। समय अभावका कारण सोमबार केही मात्रामा मात्रै बयान लिन सकिएको र मंगलबार पुनः बयान लिने प्रक्रिया अघि बढाइएको काफ्लेले जानकारी दिए।
“प्रसाईंमाथि विभिन्न अपराधका आरोपमा बयान लिइँदैछ,” काफ्लेले अनलाइनखबरसँगको कुराकानीमा भने। सरकारी वकिल स्रोतका अनुसार, प्रसाईंविरुद्ध ज्यानसम्बन्धी अपराधअन्तर्गत ‘कर्तव्य ज्यान’ को अभियोगमा अनुसन्धान भइरहेको छ।
त्यसका अतिरिक्त, ज्यान मार्ने प्रयास, संगठित अपराध, राजद्रोह तथा आपराधिक उपद्रवसमेत गरी पाँचवटा गम्भीर अभियोगमा बयान लिइँदैछ।
राजावादी प्रदर्शनका क्रममा सुरक्षाकर्मीलाई लक्षित गर्दै गाडी हानेको आरोपमा ड्युटीमा खटिएका सुरक्षाकर्मीले प्रसाईंविरुद्ध ज्यान मार्ने प्रयासको उजुरी दिएका थिए।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया