काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफूसँग असहमति भएर होइन, स्वास्थ्यका कारण राजीनामा दिएको प्रष्ट पारेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भट्टराईको राजीनामालाई लिएर बाहिर उठेका असन्तोषपूर्ण टिप्पणीहरूप्रति प्रतिक्रिया दिँदै भने, “उहाँ मेरो प्रस्तावमा मन्त्री बन्नुभएको हो। म उहाँलाई जिम्मेवारी दिँदै थिएँ, सघाउँदै थिएँ, प्रशिक्षण दिँदै थिएँ। मन्त्रालय ठूलो छ, अहिले स्वास्थ्य समस्या भएकाले उहाँले राजीनामा दिनुभएको हो। यसलाई अनावश्यक प्रचारको विषय बनाउनुको कुनै तुक छैन।”
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैङ्कक गएको प्रसङ्गलाई लिएर पनि सरकार ढल्ने जस्ता अफवाह फैलाइएकोप्रति टिप्पणी गरे । उनले एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार १५ महिनापछि प्रधानमन्त्रीको जिम्मेवारी देउवालाई हस्तान्तरण गरिने कुरा दोहोर्याउँदै अनावश्यक हल्लामा नलाग्न आग्रह गरे ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया