काठमाडौं — सर्लाही जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४ की जमुनी बललाई यही वैशाख ४ गते बिहानै सुत्केरी व्यथा सुरु भयो । परिवारका सदस्यहरूले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरेपछि अस्पतालले तुरुन्तै एम्बुलेन्स पठायो। उनलाई अस्पताल ल्याइयो र सोही दिन उनले एक स्वस्थ शिशुको जन्म दिइन् । अर्को दिन अस्पतालका स्वास्थ्यकर्मीको साथमा उनलाई एम्बुलेन्समार्फत सुरक्षित रूपमा घर पुर्याइयो ।
लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार अस्पतालले गर्भवती तथा नवप्रसूता महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ। हालसम्म १३ जनाले यो सेवा लिइसकेका छन् । मातृ तथा नवजात शिशु मृत्यु दर घटाउने उद्देश्यले अस्पताल र नगरपालिकाको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याइएको हो।
नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै वडाका गर्भवती महिलाहरूलाई सुत्केरीका लागि अस्पताल आउँदा र अस्पतालबाट घर फर्किँदा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। यसका लागि नगरपालिकाले २० लाख १० हजार रुपैयाँ खर्चेर एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको हो ।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार












प्रतिक्रिया