काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रियामा गम्भीर नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन्। उनले यो अनियमितताले महानगरलाई एक अर्बभन्दा बढी आर्थिक क्षति पुगेको र ठेकेदारलाई अर्बौँ रुपैयाँको फाइदा हुने खुलासा गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर शाहले २०७३ मा टावरको १२ तलासम्मको नक्सापास दिँदा महानगरको तत्कालीन नेतृत्वले न्यून आर्थिक लाभ हुने गरी सम्झौता गरेको उल्लेख गरे। उक्त सम्झौता अनुसार चौथो वर्षसम्म वार्षिक ९८ लाख ३३ हजार र ३०औँ वर्षमा जम्मा ३ करोड ९० लाख मात्र भाडा महानगरले प्राप्त गर्नेछ।

advertisement

तर, पछि १२ तला बढाएर १९ तला बनाइँदा थपिएको ७ तलाको क्षेत्रफल १ लाख २८ हजार वर्गफुट रहेको र यसबाट वार्षिक २३ करोडभन्दा बढी भाडा आउनुपर्ने शाहको दाबी छ। “३० वर्षमा प्रतिवर्गफुट ६७० रुपैयाँ भाडा लिने हिसाबले ७ तला मात्रबाट नै एक अर्बभन्दा बढी आम्दानी हुन सक्थ्यो,” शाहले भने, “तर सम्झौता अनुसार महानगरले जम्मा ३ करोड पाउँछ, बाँकी लाभ ठेकेदारलाई जान्छ।”

शाहले भवन निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नलिइकन, काठमाडौं उपत्यका विकास प्राधिकरणको स्वीकृति नलिईकन नक्सापास गरिएको र यो गैरकानुनी रहेको बताएका छन्। उनले राष्ट्रिय भवन संहिता NBC 105:2020 अनुसार १९ तला टावरको ७०% भन्दा बढी स्तम्भ (column) असफल हुने भन्दै गम्भीर संरचनात्मक जोखिम पनि औंल्याए।

उनले नक्सापासमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको संलग्नता रहेको उल्लेख गर्दै आरोप लगाए — “गुरागाईँले हाजिर भएको दोस्रो दिनमै आधिकारिक प्रक्रिया नअपनाई, विभागीय प्रमुखलाई जानकारी नदिई नक्सापास गरेका छन्। यो नीतिगत भ्रष्टाचार हो।”

शाहले गुरागाईँलाई सरकारले विशेष उद्देश्यसहित महानगरमा पठाएको हुन सक्ने आशंका पनि व्यक्त गरे। साथै, उनले महानगरको आधिकारिक प्रणाली EBPS (Electronic Building Permit System) मा यो नक्सा अद्यावधिक नभएको र यसलाई मान्यता नदिने स्पष्ट पारे।

“हिल्टन होटलको नक्सापास पनि गुरागाईँले सोही दिन गरेका रहेछन्, त्यसको पनि छानबिन हुनेछ,” उनले भने।

शाहले नागरिकलाई यस्ता अनियमितता देखे महानगरमा सूचना दिन आग्रह गर्दै जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने प्रतिबद्धता जनाए। लोकतन्त्र दिवसको अवसर पारेर उनले भ्रष्टाचारमुक्त समाज निर्माणको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com