काठमाडौं । तीनकुने प्रकरणमा संलग्न २४ जनाविरुद्ध राज्यविरुद्धको अभियोगमा प्रहरी अनुसन्धान अगाडि बढाइएको छ। चैत १५ गते पूर्वराजाको समर्थनमा गरिएको प्रदर्शनका क्रममा उनीहरूले आपत्तिजनक गतिविधि गर्दै राज्यविरुद्धको कार्य गरेको आरोप लगाइएको छ।
उक्त प्रदर्शन ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का अगुवा दुर्गा प्रसाईँ र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीको नेतृत्वमा आयोजित भएको थियो।
प्रदर्शनको अग्रमोर्चामा रहेका दुर्गा प्रसाईँसहित २४ जनामाथि प्रहरीले मुलुकी अपराध संहिताअन्तर्गत राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु गरेको हो। तीमध्ये १६ जनाको प्रहरीसमक्ष बयान सकिएको छ भने बाँकी ८ जनाको बयान प्रक्रिया भइरहेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ललितपुर निवासी विष्णुजंग बस्नेतसहित आठ जनाको बयान अझै लिइन बाँकी छ। ती अधिकृतले भने, “प्रसाईँसहित बाँकी व्यक्तिहरूको बयान लिने प्रक्रिया चलिरहेको छ।”
यसअघि लघुवित्त पीडितहरूको नेतृत्व गर्दै बल्खुमा प्रदर्शन गरेका प्रसाईँ पछिल्लो समय पूर्वराजा फर्काउने अभियानमा सक्रिय बनेपछि अनुसन्धानकर्ताहरूले उनीसँग त्यसबारे पनि प्रश्न गर्ने तयारी गरिरहेका छन्।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका एक अधिकृतका अनुसार प्रसाईँको बयानका लागि विशेष प्रश्नहरू तयार पारिँदै छन्। उनले भने, “प्रसाईँसँगका बयानमा केही समय लाग्छ, प्रश्नहरू तयार गर्दै छौँ।”
यस घटनालाई लिएर प्रहरी र सरकारी वकिल कार्यालय दुवै निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन्।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया