विराटनगर — धरानका मेयर हर्कराज साम्पाङले युट्युबरहरूको संस्थालाई खोला किनारको सार्वजनिक जग्गा उपलब्ध गराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टिकरण माग्दै पत्र पठाएको छ।
साम्पाङले युटुवरहरुको एसोसिएसनलाई सामुदायिक भवन निर्माणको लागि धरानको खोलातर्फ पर्ने सरकारी जमिन प्रयोग गर्न दिने निर्णय गरेका थिए। उक्त निर्णय माघ ३ गते बसेको नगर कार्यपालिकाको बैठकमार्फत् पारित गरिएको हो। एसोसिएसनका अध्यक्ष स्वर्णिमहाङ फोम्बो रहेका छन्।
सो निर्णयविरुद्ध उजुरी परेपछि अख्तियारले प्रक्रिया, मापदण्ड र कानुनी हैसियतको बारेमा जानकारी माग्दै मेयर साम्पाङलाई औपचारिक पत्र पठाएको हो।
अख्तियारलाई पठाइएको जवाफमा मेयर साम्पाङले सो जमिन धरान–४ नम्बर वडाको सिफारिसका आधारमा उपलब्ध गराइएको उल्लेख गरेका छन्। उनले सोही क्षेत्रको छेउमै भगवान् सूर्यनारायणको मन्दिर निर्माणका लागि समेत जग्गा छुट्याइएको स्पष्ट पारेका छन्।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया