काठमाडौं । दक्षिण एशियामा पुनः एकपटक युद्धको खतराको संकेत देखिएको छ। पछिल्लो पटक जम्मु-कश्मीरको पहलगाममा भएको आतंकी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै चिसिएको छ। सो आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका छन्।
सो घटनाको केही दिनअघि पाकिस्तानका सेनाप्रमुख जनरल सैयद आसिम मुनिरले कश्मीरप्रति आफ्नो देशको अडान स्पष्ट पार्दै भनेका थिए, “हामी हिन्दुहरूसँग कहिल्यै एक हुन सक्दैनौं। हाम्रो धर्म, संस्कार, संस्कृति, सोच र सपना फरक छन्। कश्मीर हाम्रो नशा–नशामा समाहित छ र हामी त्यसलाई कहिल्यै बिर्सन सक्दैनौं।”
पहलगाममा घुम्न गएका पर्यटकहरूलाई लक्षित गरी गरिएको उक्त आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाको छायाँ संगठन मानिने ‘द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ)’ले लिएको छ। भारतले यस समूहलाई आतंकी सूचीमा राखिसकेको छ। भारतको दाबी अनुसार, यो संगठनलाई पाकिस्तानी सेनाको प्रत्यक्ष समर्थन प्राप्त छ।
भारतको कडा प्रतिक्रिया
घटनापछि भारतले पाकिस्तानविरुद्ध कडा निर्णयहरू सार्वजनिक गर्दै ‘सिन्धु जल सम्झौता’ तत्काल स्थगन गर्ने निर्णय गरेको छ। पाकिस्तानको जीवनरेखा मानिने यस नदीमार्फत लगभग २.५ करोड एकड जमिन सिँचाइ हुने गर्दछ। सम्झौता निलम्बनसँगै भारतले अटारी इन्टिग्रेटेड चेकपोस्ट पनि बन्द गरेको छ। साथै भारत आएका पाकिस्तानीहरूलाई स्वदेश फर्कन निर्देशन दिइएको छ।
भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार अब पाकिस्तानी नागरिकहरूले सार्क भिसा छुट अन्तर्गत भारत यात्रा गर्न पाउने छैनन्। यस अन्तर्गत जारी भिसाहरू रद्द गरिएको छ र ४८ घण्टाभित्र भारत छाड्न आदेश दिइएको छ। त्यसपछि दिल्लीस्थित पाकिस्तानी उच्चआयोगका अधिकारीहरूलाई पनि एक साताभित्र भारत छोड्न भनिएको छ। भारतले आफ्ना सबै कूटनीतिक अधिकारीहरूलाई पाकिस्तानबाट फिर्ता बोलाएर प्रायः दूतावास नै बन्दजस्तै बनाइसकेको छ।
कश्मीरमा सैन्य अपरेशन तीव्र
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय सुरक्षा बैठकले पहलगाम हमलाका योजनाकारलाई कुनै हालतमा नछोड्ने निर्णय गरेको छ। सोहीअनुसार कश्मीर क्षेत्रमा सैनिक अपरेशन तीव्र बनाइएको छ। भारतले केही आतंककारी मारिएको दाबी पनि गरेको छ।
पाकिस्तानको जवाफी प्रतिक्रिया
यसबीच पाकिस्तानले पनि भारतसँगको सम्पूर्ण व्यापार बन्द गरेको घोषणा गर्दै प्रमुख नाका बन्द गरिसकेको छ। पाकिस्तानले सन् १९७१ मा भारतसँग गरिएको ऐतिहासिक ‘सिमला सम्झौता’समेत रद्द गरिएको जनाएको छ। साथसाथै, पाकिस्तानले सबै भारतीय भिसा रद्द गर्दै शिख तीर्थयात्रीबाहेक बाँकी सबैलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ। साथै भारतीय विमानहरूका लागि हवाई मार्गको अनुमति पनि खारेज गरिएको छ।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतको कदमलाई ‘युद्ध निम्त्याउने कार्य’ भन्दै कडा चेतावनी दिएका छन्। उनले पहलगाम आक्रमणप्रति पाकिस्तानले निन्दा गरेको तर त्यसमा पाकिस्तानको संलग्नता नरहेको दाबी गरेका छन्।
इतिहास दोहोरिने खतरा?
भारत–पाकिस्तानबीच सन् १९४७ को विभाजनयता कैयौंपटक युद्ध भइसकेको छ। सन् २०१६ को उरी आक्रमण र सन् २०१९ को पुलवामा आक्रमणपछि भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्राइक र हवाई आक्रमण गरिसकेको छ। सन् २०२१ मा एलओसीमा युद्धविराम भए पनि हालको घटनाक्रमले त्यो सहमति धरापमा पारेको छ।
परमाणु शक्ति सम्पन्न राष्ट्रबीचको तनाव
भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न राष्ट्र हुन्। पहलगाम घटनापछि दुवैले एकअर्काविरुद्ध चालेका कदमले दक्षिण एशियामा पुनः एकपटक युद्धको आशंका जन्माएको छ। क्षेत्रीय स्थायित्व र विश्व शान्तिका लागि यो अवस्था चिन्ताजनक बन्दै गएको विश्लेषकहरू बताउँछन्।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया