बैंकक। शुक्रबार बिहान थाइल्यान्डको एक प्रसिद्ध समुद्री तटीय क्षेत्रमा भयावह विमान दुर्घटना हुँदा ६ जना प्रहरीको ज्यान गएको छ। परीक्षण उडानमा रहेको सानो विमान अचानक समुद्रमा खसेर दुई टुक्रा भएपछि यो दुःखद घटना भएको हो।
थाइल्यान्ड प्रहरीका अनुसार रोयल थाई प्रहरीको प्यारासुट प्रशिक्षणका लागि तयारी स्वरूप गरिएको परीक्षण उडान दुर्घटनामा परिणत भएको हो। प्रहरी प्रवक्ता आर्चायोन क्राइथोङले जानकारी दिएका अनुसार, दुर्घटना बिहान करिब ८:१५ बजे हुआ हिन जिल्लामा भएको हो। विमान फेत्चाबुरी राज्यको चा–आम रिसोर्ट क्षेत्र नजिकै समुद्रमा खसेको थियो।
दुर्घटनाको आवाज निकै टाढासम्म सुनिएको थियो भने स्थानीय बासिन्दाहरू त्रसित भएका थिए। विमान दुर्घटनापछि तुरुन्तै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए र उद्धार कार्य सुरु गरिएको थियो। प्रारम्भिक रिपोर्टअनुसार, पाँच जना प्रहरी अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।
विमान समुद्री सतहभन्दा करिब १०० मिटर गहिराइमा दुर्घटनाग्रस्त भएको र दुर्घटनापछि दुई टुक्रामा विभाजित भएको बताइएको छ। सबै मृतकको शव समुद्रबाट निकालिएको छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। विमानको ब्ल्याक बक्स फेला पारिएको छ, जसको विश्लेषणपछि घटनाको कारणबारे थप स्पष्टता आउने विश्वास गरिएको छ।
सो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ। यो दुःखद घटनाले स्थानीय क्षेत्रमा शोक र स्तब्धता छाएको छ।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया