काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ले प्रधानमन्त्रीको निजी कक्षसम्म बिचौलियाको पहुँच रहेको भनी सार्वजनिकरूपमा अभिव्यक्ति दिने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई धन्यवाद दिएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै पुनले गगन थापाले ढिलो भए पनि सत्य कुरा बोलेको भन्दै प्रशंसा गरेका हुन्। उनले भने, “सत्तारुढ दलका प्रभावशाली महामन्त्री तथा सरकार सञ्चालनको संयन्त्रका सदस्यले नै प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलिया पुग्ने बताउनुभयो। ढिलो भए पनि सत्य कुरा सार्वजनिक गर्नुभएकोमा म उहाँलाई धन्यवाद दिन चाहन्छु।”
महामन्त्री थापाले गत वैशाख २ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री निवासभित्रै बिचौलियाको घुसपैठ रहेको दाबी गरेका थिए।
पुनले थपे, “हामीले पहिले नै यो सरकार बिचौलिया र स्वार्थ समूहको इशारामा चलेको सरकार हो भनेर आवाज उठाउँदा त्यसलाई सरकारबाट बाहिरिएको रिस भन्दै खारेज गरियो। तर अहिले घरघरमा, चोकचोकमा र सार्वजनिक मञ्चहरूमा समेत यही कुरा दोहोरिँदै छ। जनताले नै यो सरकारलाई दलाल, बिचौलिया र स्वार्थी समूहको प्रतिनिधि भनेर चिनाउन थालेका छन्।”
यसरी सत्तारुढ गठबन्धनभित्रकै शक्तिशाली नेताले यस्तो गम्भीर आरोप लगाउनु र प्रतिपक्षले त्यसलाई समर्थन गर्नु सरकारको विश्वासनीयतामाथि ठूलो प्रश्नचिह्न खडा भएको संकेतका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया